Tuesday, November 22, 2011

~बिक्रीमा राखिएका सपना~

जसरी न्यूरोडको एक भैय्याले
बटुवालाई चना-चटपट
र एक गिलास सोडा बेच्छ
त्यसरी नै अम्रिकाले
प्रत्यक सेकेन्ड मानिसलाई
हजारौँ सपनाहरु बेच्छ
विद्यार्थीलाई राम्रो कामको
व्यापारीलाई राम्रो दामको
परिवारलाई ठुलो घरको
टुहुरोलाई आडिलो भरको
आफ्ना आँखाले देखिने
तर समात्न नसकिने गरि ती सपना
केवल दौडिरहेछन
सानोमा "छोइ-डुम" खेलेझैँ
'अमेरिकन ड्रिम' लाई समात्न
सारा जमात लागिपरिरहेछन्
कहिले-काहीँ लाग्छ
'अमेरिकन ड्रिम' एक परमसुन्दरी हो
जो एक अप्सराझैँ सपनिमा आउँछे
मुसुक्क हाँस्छे, अनी भुतुक्कै बनाउँछे
क्षणभरकोलागी परमसुख दिलाइ
बिस्तारै रित्तीदैँ जान्छे
तर,
असन्तोषी मनुवालाई
आफ्नी सङिनीसँग परिचय गराई
सदाका लागि बिदा हुन्छे
बिचरो मनुवा
एकपछी, अर्को
त्यसपछि फेरि अर्को गर्दै
सपनिमा विपना खोज्न विवश छ
अन्धकारलाई उज्यालो देख्न वाध्य छ
र,
एक शुन्यमा पूर्णता भेट्टाउन तल्लीन छ।।

Monday, November 21, 2011

~शैलेश~

घडीको टिकटिक
अनि रातको रमझम
विदेशको बसाइँ
अनि गाउँको घरजम
आफ्नो साइकल
घनश्यामको गाडी
बैकुन्ठेको रोलेक्स
आफ्नो खाली नाडी!
रामेकी बुढी
आफ्नो रित्तो भुँडी
छाम्दै भन्छ शैलेश
"के सत्य यही हो?"
रित्तो भुँडीमा जाँड खन्याउँदै
भित्तामा हान्दै, जुत्ता हुर्याउँदै
शैलेश भट्याउँदै छ,
"बरु गाउँ नै फर्किन्छु
केही गर्न नसकेनी
यौटा स्वतन्त्र राज्यको माग गर्छु
देश यसै नी टुक्रिदै छ
बरु आफ्नै राज्यको राजा हुन्छु
पृथ्वीनारनको सालिकलाई जरैदेखी उखेल्छु
आफ्नो प्रतिमा त्यहीँ ठड्याउँछु
अनि,
'स्व-राज्य जिन्दबाद' को नारा
चर्को स्वरमा लगाउँछु" ।।