Tuesday, December 22, 2009

~नेपाल बन्दमा समर्पित~

सुनियो फेरी नेपाल बन्द भयो रे
रमाइलो नै भयो रे
स्कूलाँ गेट लाग्यो रे,
सडकाँ टायर नी बल्यो रे
जाडोको बेलाँ
राती मसाल जुलुसको आगो
अनी दिउँसो
गोरखकाली टायरको राँको
सबले मनग्ये तापे रे
साँच्चीकै रमाइलो भयो रे
विद्यार्थीलाई छुट्टी
कर्मचारीलाई विश्राम
अनी मासुचिउरा को खाजासंगै
मस्त "Marriage" खेल्ने बाहना
आहा,कति रमाइलो छ
मुठ्ठिभर माथिल्ला वर्गलाई
माकुने लगायत
जापानी गाडी चढ्ने रहिजहरुलाई
नेपाल बन्द भए, घरदरबार
नभए,सिँहदरबार
के गर्नु?
यसो सुन्दिए त हुने
सुन्सान रिङरोडबाट गुन्जिने
नेपालको आर्तनाद
बलेको टायरबाट निस्कने
एक श्रमजिवीको पुकार
यसो देख्दिये त हुने
टियर ग्याँसले निकालेको
अबोध बालकको आँसु
तर खाँचै शिती!
के बालकको आँसुले
माकुनेको छाक अड्क्या छ र?
के भरियाको पुकारले
सुजाताको प्लेन छुट्या छ र?
के देशको भविश्यको बिगुलले
हाम्रो वर्तमान रोकिया छ र?

Friday, October 9, 2009

~नोबेल प्राइज् एन्ड माकुने~


ओबामाले नोबेल पुरस्कार पाएको सुन्दा
रिस पो उठेर आयो
चाउरे, लिखुरे,लम्बुलाई छान्ने को?
मन भित्रैदेखि कुँडिएर आयो
के हाम्रा माकुने कम थिए र?
उनलाई वास्तै गर्न नहुने?
दुई ठाउँबाट हारेको भन्दै मा
एक वचन सोध्नै नहुने?
कसैले हेर्या छ
हाम्रो प्रमको मुस्कान?
आहा!
देख्दै विश्वले चीर शान्ति पाउला जस्तो
कसैले सुन्या छ
उनले देको भाषण?
सुन्दै लादेन भैयाले सन्यास लेलान् जस्तो
छ ओबामाको आँट
Geri Halliwell सँग खुलेआम म्वाइँ खाने?
छ ओबामासँग कला?
अँगालो हाल्दै शान्ति बाँढ्ने?
ओबामा जत्तिकै अग्लो नभएर के भो?
खाइलाग्दो जुङा लामो छँदै छ
फोटू त जस्तो नि निकाल्न सकिन्छ!
फोटोशप जान्ने कार्यकर्ता छँदै छ
कति दुखेसो गर्नु अब
अन्याय भो, अत्याचार भो
लौ अब जे सुकै होस्
माननीय प्रम माकुनेले
पुरस्कार नपाएकै निउँमा
भोली "नेपाल बन्द" घोषणा भो!!

Monday, August 17, 2009

कुशे औँशीको लागि



मस्त निद्रामा सुतिरहेको
अबोध बालक थिएँ म
अँध्यारोमा नै रमाउने
बाहिरको उज्यालोबाट बन्चित
एक निरक्षर थिएँ म
तर तिमी त्यहाँ थियौ
मेरो लागि सधैं
टाढाको क्षितिज हेर्दै
प्रकाश देखाउदै अझै
भन्थ्यौ,"आँखा खोल् छोरा
चीर निन्द्रामा सुत्लास् कुनै दिन
अहिले उठ्नु छ, धेरै काम गर्नु छ।"

झ्यालबाट छिरेको
घामको रापसँगै
म उठ्ने गर्थेँ
र तिम्रो धापसँगै
लक्ष्य प्राप्र्तिको निम्ती
अगाडि बढ्ने गर्थेँ
मेरो किन्चित खुशीमा
तिम्रो मुहारको चमक
अझै सम्झिन्छु म
मेरो रुवाइमा
तिम्रो बात्सल्यको स्पर्श
अझै महसुस गर्छु म
मेरो कमजोरीमा,लाचारीपनमा
नैराश्यमा,अनि हारमा
तिम्रै रक्तसन्चारक प्रवचन
अझै प्रष्ट सुन्छु म।

लेखुँ भने कती लेखुँ
शब्द सकिएलान्, शब्दकोशका
दिन सक्दिन अरु केही
कुशे औँशीको यो दिनमा
बाबा,
बन्द आँखा गरी तिमीलाई
हेर्दै छु, मन-मस्तिष्कमा।
हेर्दै छु, मन-मस्तिष्कमा।।

Tuesday, August 11, 2009

प्रश्न


आफ्नो कुरा ब्यक्त गर्न
पर्खिरहेको एक मानिस
जब न्याकिन्छ समाजबाट
जब उसको भावनालाई
नाली सरह तुल्याइन्छ
र, जब उसको बेदनालाई
चर्पीमा "फ्लश" गरिन्छ
तब जन्मिन्छ एक आक्रोश
जसले रोप्छ क्रान्तिको बिउ
अनि निकाल्छ ज्वाला
निक्लेको ज्वालासँगै
उन्नत कहलिएको समाज
आँखा झिमिक्क गर्न नपाउँदै
निमेषभरमै,
खरानी भइ
धर्तीमा विलिन हुन पुग्दछ
"मै हुँ" भन्नेहरुलाई लाग्ला
के यो सम्भव छ?
भन्न मन लाग्छ
ठूलो वर्गका उच्चहरुलाई
आत्मप्रश्न गर्न
अलि ढिला भएन र?
बाँकी समय,
बरु कात्रो सिलाउन खर्च गरे
कसो होला??

Wednesday, July 29, 2009

खोज


सत्यको खोजीमा
म आइपुगेँ
एक नयाँ ठाउँमा
ठाउँको नवीनता नियाल्दै
सत्य सम्झिरहेछु
किञ्चित आशावादी हुँदै
अघी बढीरहेछु
आशा बढ्दै छ
र आकांक्षा पनि
तर फेरी त्यही "नोस्टाल्जिया"ले
झ्याप्प अँगालो हाल्छ
अनी विस्तारै मुस्काउँदै
उही पुरानो यादमा
सयर गर्न थाल्छु
नयन खुलै राखी
कल्पनामा रमाउँछु
निद्राले छोप्यो भने पनि
सपनिमै भुल्न थाल्छु
आह! क्या दिन थिए
मात्र रमाइलो, मात्र आनन्द
एकछिन सोच्छु, फर्केला ती दिनहरु?
"सायद"! मेरो अन्तर्मनको जवाफ
"सायद"को उज्यालो पक्षलाई
मात्र हेर्दैछु म
आह! अब ढुक्क भएँ
रमाइला दिनहरु फर्किन्छन्
अवश्य पनि, निश्च्य पनि
प्रतिक्षा काफी छ
धैर्यताका साथ
जुन म गरिरहेछु।

Sunday, June 28, 2009

जिरो आवर


"बाबु हो, लौ भन त पृथ्वी कस्तो छ?"
"गोलो छ सर"
शैशवकालीन यस्तै यादसँगै
म घुमिरहेछु
र घुमिरहेछ यो गोलो पृथ्वी
जसभित्र घुमिरहेछ समय
घडीको सुईसँगै
र सुइकै पछि भाग्दैछ
सभ्यता, असभ्यता
मानवीयता अनी दरिद्रता
कोठामा पँखा घुमिरहेछ
फनन.. फनन....
विश्वभरी घुमिरहेछ फुटबल
अनि फुटबलसँगै घुम्दैछन्
फुटबल टाउके मनुवाहरू
"लौ ठोक्कियो...लौ भयो गो..ल"
गोलो तरङमा घुमिरहेको आवाज
र गोलाकार भई निस्किरहेको
'मार्लबोरो' को धुँवा
जब उड्छ नीलाकाशमा
अनी म पनि उड्छु
चुरोटको धुँवासँगै
मान्छेहरूको कुरासँगै
मेरो आफ्नै लोकमा
अनि हेर्छु मेरो पृथ्वीलाई
घुमिरहेको,
हरपल, निरन्तर ।

Tuesday, May 19, 2009

प्लास्टिके कुकुर, रात र म


निशाले व्याप्त जगतको
एक कुनामा एउटा शहर छ
जहाँ कयन् घरहरुकाबीच
मेरो घरको एक कोठाभित्र
म छु,अनी बत्तीको मधुरो प्रकाश छ
र छ, टेबुल माथि राखिएको एक कुकुर
एक निश्प्राण कुकुर, जसको निर्माण
प्लास्टिकद्वारा गरिएको छ।

शून्य वाट्को बत्तीको उज्यालोमा
म हेर्दछु मेरो त्यस कुकुरलाई
नियालेर, र प्रत्युत्तरमा त्यसले हेर्दछ
आफ्ना काला प्लास्टिकका आँखाले
शायद मलाई या बत्तीको मधुरो प्रकाशलाई
या त बत्तीद्वारा नछिचोलिएको
मेरो कोठामा विध्यमान अँध्यारोलाई
निरन्तर, अटुट, लगातार
मानौँ कि त्यसका बेजान आँखा पनि
केहीमा तीखो फोकस गरिरहेका छन्।

"के त्यसले मलाई नै हेरेको त होइन?"
यही आत्मप्रश्नसँगै जुध्दछन् मेरा नयन
त्यसका नयनसित कठोर रूपमा
म त्यस निमुखाको प्रतिद्वन्दीझैँ
झन् व्यग्र हुँदैँ जान्छु, तर,
'रेफ्री' बनेको बत्तीको अगाडी
झिम्कन्छन् मेरा आँखा, र,
म हार्दछु त्यसका प्राणहीन् आँखासित
अश्रुको बुँद खसाल्दै
तर आश्चर्य,
त्यसका आँखा त अझै यथावत् छन्
प्लास्टिकका ती काला आँखा
अझै प्लास्टिककै छन्।

पराजयले परास्त मेरा आँखा
त्यसका विजयले उल्लासित नयनलाई
हेर्न असमर्थ हुन्छन्, तर
म हेर्दछु, बलपूर्वक, ती प्लास्टिके आँखालाई
तर पाउँदछु केवल शुन्यता जसमा
न विजयको उन्माद छ,
न हर्षको अभिव्यक्ती नै
तर छ, शायद, झिनो आशा, सपना
अनी कल्पना
द्वेषविहीन त्यसका आँखा
अझै एकोहोरिएका छन्
एकै ठाउँमा, एक टकले, एकै ढङ्गले
जुन हेराइले मलाई लाग्दछ
कता-कता, प्लास्टिकका ती आँखामा पनि
ज्यान छ, चेतना छ
शान्तिपूर्ण र सुमधुर
प्रभातको पर्खाइ छ।

Monday, May 18, 2009

निशा र सपना

हिजो राती एउटा सपना देखेँ
एक मीठो सपना;
म अमेरिकामा
मेरो घरमात्र नेपालमा
नेपाल जलिरहेछ
आर्यघाटको चितासरी
तर अमेरिका त चम्किरहेछ
अनेकन् बिजुली-बत्तीसरी
सपनामै झसँग भएँ
सपनामै आफुलाई छामेँ
र वरपर नियालेँ
पछी आफ्नो बेवकुफीमाथि
व्ङ्य मुस्कुराएँ
म त बेकारमा तर्सिएछु
व्यर्थै यत्तिकै डराएछु
म त अमेरिका मा पो छु
जुन चम्किरहेछ
नेपालमा त छैन नि!
जुन सल्किरहेछ
अनी आफुले आँफैलाई आश्वश्त पारेँ
र लामो सास फेर्दै भनेँ
" आइ एम् अलरेडी अ फरेनर"
अङ्ग्रेजी जानेकोमा दङ्ग पर्दै
नेपालसम्झी थुक्क थुकेँ
एक्कासी,
जलनमा नेपाली चित्कार सुनेँ
रुवाबासी र हाहाकार सुनेँ
"म फरेनरलाई बाल मतलब" भन्दै
चरमानन्दको अनुभूत गरेँ।

Saturday, May 2, 2009

घण्टेयुद्ध

वीर शम्शेरको घण्टाघरले
हान्न नसकेको घण्टा
म अहिले हान्दैछु
सुन्दा अचम्म लाग्ला
घडीले हान्न नसकेको घण्टा
एक मनुवाले कसरी हान्यो?
तर यथार्थको रमाइलो पक्ष
घण्टा हानिदैछन्
धमाधम,
युद्ध चलिरहेको छ
घडी र मान्छेबीच
कुनै महायुद्ध होइन
एक जटिल घण्टेयुद्ध
प्रश्न उठ्ला
यो सब केका लागि?
उत्तर अस्पष्ट छ
तर कुनै समस्या छैन
कारण,
जनयुद्धबाट तर्सेको मान्छे
घण्टेयुद्धमा रमाइरहेको छ
मान्छेबाट गोरुमा
रुपान्तरित भएपनी
रण्भूमिमा उम्रेको घाँस
सन्तोषका साथ खाइरहेको छ।

Thursday, January 29, 2009

बाह्र बज्यो

घण्टाघरले फेरी बजायो
मध्यरातको घन्टी
ट्वाङ् ट्वाङ्
आवाज प्रश्टिंदै छ
वरपर परपर
आवाजले रानीपोखरी छचल्कियो
र गर्जियो आकाश
बिजुली चम्कीँदाको उजयालोमा
उजिलियो रत्नपार्क
आफ्नो सर्वाङग देखाउँदै
मस्कियी भोटाहिटी
र उत्तेजनाको पासोमा कैद भयो जमल।

पवित्र प्रेम छ
जमल र भोटाहिटीबीच
सङिनी रत्नपार्क
खुशी छे भोटाहिटीप्रति
विश्वस्त छे उस्को प्रेमप्रति
तर अपसोच
दरबारमार्ग दादा हो
मध्यरातको, मध्यदिनको
ऊ दुश्मन हो
पवित्रताको, स्वतन्त्र चाहनाको
तेसैले त ऊ
कुल्चन्छ रत्नपार्कलाई
तर्साउँछ भोटहिटिलाई
धम्क्याउँछ जमललाई
घण्टाघर हेरिरहेछ
दरबारमार्गको घमन्ड
रत्नपार्कको लाचारीपन
र त्यो घाइते प्रेम
तर बजाइरहेछ घण्टी
ईतिहासको प्रत्यक मोडहरुमा।