Tuesday, May 19, 2009

प्लास्टिके कुकुर, रात र म


निशाले व्याप्त जगतको
एक कुनामा एउटा शहर छ
जहाँ कयन् घरहरुकाबीच
मेरो घरको एक कोठाभित्र
म छु,अनी बत्तीको मधुरो प्रकाश छ
र छ, टेबुल माथि राखिएको एक कुकुर
एक निश्प्राण कुकुर, जसको निर्माण
प्लास्टिकद्वारा गरिएको छ।

शून्य वाट्को बत्तीको उज्यालोमा
म हेर्दछु मेरो त्यस कुकुरलाई
नियालेर, र प्रत्युत्तरमा त्यसले हेर्दछ
आफ्ना काला प्लास्टिकका आँखाले
शायद मलाई या बत्तीको मधुरो प्रकाशलाई
या त बत्तीद्वारा नछिचोलिएको
मेरो कोठामा विध्यमान अँध्यारोलाई
निरन्तर, अटुट, लगातार
मानौँ कि त्यसका बेजान आँखा पनि
केहीमा तीखो फोकस गरिरहेका छन्।

"के त्यसले मलाई नै हेरेको त होइन?"
यही आत्मप्रश्नसँगै जुध्दछन् मेरा नयन
त्यसका नयनसित कठोर रूपमा
म त्यस निमुखाको प्रतिद्वन्दीझैँ
झन् व्यग्र हुँदैँ जान्छु, तर,
'रेफ्री' बनेको बत्तीको अगाडी
झिम्कन्छन् मेरा आँखा, र,
म हार्दछु त्यसका प्राणहीन् आँखासित
अश्रुको बुँद खसाल्दै
तर आश्चर्य,
त्यसका आँखा त अझै यथावत् छन्
प्लास्टिकका ती काला आँखा
अझै प्लास्टिककै छन्।

पराजयले परास्त मेरा आँखा
त्यसका विजयले उल्लासित नयनलाई
हेर्न असमर्थ हुन्छन्, तर
म हेर्दछु, बलपूर्वक, ती प्लास्टिके आँखालाई
तर पाउँदछु केवल शुन्यता जसमा
न विजयको उन्माद छ,
न हर्षको अभिव्यक्ती नै
तर छ, शायद, झिनो आशा, सपना
अनी कल्पना
द्वेषविहीन त्यसका आँखा
अझै एकोहोरिएका छन्
एकै ठाउँमा, एक टकले, एकै ढङ्गले
जुन हेराइले मलाई लाग्दछ
कता-कता, प्लास्टिकका ती आँखामा पनि
ज्यान छ, चेतना छ
शान्तिपूर्ण र सुमधुर
प्रभातको पर्खाइ छ।

Monday, May 18, 2009

निशा र सपना

हिजो राती एउटा सपना देखेँ
एक मीठो सपना;
म अमेरिकामा
मेरो घरमात्र नेपालमा
नेपाल जलिरहेछ
आर्यघाटको चितासरी
तर अमेरिका त चम्किरहेछ
अनेकन् बिजुली-बत्तीसरी
सपनामै झसँग भएँ
सपनामै आफुलाई छामेँ
र वरपर नियालेँ
पछी आफ्नो बेवकुफीमाथि
व्ङ्य मुस्कुराएँ
म त बेकारमा तर्सिएछु
व्यर्थै यत्तिकै डराएछु
म त अमेरिका मा पो छु
जुन चम्किरहेछ
नेपालमा त छैन नि!
जुन सल्किरहेछ
अनी आफुले आँफैलाई आश्वश्त पारेँ
र लामो सास फेर्दै भनेँ
" आइ एम् अलरेडी अ फरेनर"
अङ्ग्रेजी जानेकोमा दङ्ग पर्दै
नेपालसम्झी थुक्क थुकेँ
एक्कासी,
जलनमा नेपाली चित्कार सुनेँ
रुवाबासी र हाहाकार सुनेँ
"म फरेनरलाई बाल मतलब" भन्दै
चरमानन्दको अनुभूत गरेँ।

Saturday, May 2, 2009

घण्टेयुद्ध

वीर शम्शेरको घण्टाघरले
हान्न नसकेको घण्टा
म अहिले हान्दैछु
सुन्दा अचम्म लाग्ला
घडीले हान्न नसकेको घण्टा
एक मनुवाले कसरी हान्यो?
तर यथार्थको रमाइलो पक्ष
घण्टा हानिदैछन्
धमाधम,
युद्ध चलिरहेको छ
घडी र मान्छेबीच
कुनै महायुद्ध होइन
एक जटिल घण्टेयुद्ध
प्रश्न उठ्ला
यो सब केका लागि?
उत्तर अस्पष्ट छ
तर कुनै समस्या छैन
कारण,
जनयुद्धबाट तर्सेको मान्छे
घण्टेयुद्धमा रमाइरहेको छ
मान्छेबाट गोरुमा
रुपान्तरित भएपनी
रण्भूमिमा उम्रेको घाँस
सन्तोषका साथ खाइरहेको छ।