Sunday, December 8, 2013

हिउँ, म र अप्रिल फूल

झ्यालबाट यसो पर्दा उघारी हेर्दा
हिजोदेखीको हिउँ
पुरु-पुरु अझै परिरहेको देखेँ
ढपक्क हिउँले छोपिएको
आफ्नो कालो बाहनमै  
मैले सेतो अन्नपूर्ण र माछापुच्छ्रे देखेँ।

एक साथीको निम्तो आयो
"क्रिसमसको भेटघाट छ, घर आइज है"
म गएँ र सहभागी भएँ
पारिवारिक जमघट
बालबच्चाको दौड्धूप
सब हर्ष र उल्लासबीच
एक्कासी,
दशैँमा डमरू बजाउँदै खेलेको सम्झेँ  
क्रिसमस् क्यारोल एक लयमा गाउँदा
घण्ट र शंखनादमा गुन्जिएको
हजुरबाको चण्डी पाठलाई पो सम्झेँ!

घर फर्किँदा
भूत, वर्तमान र भविष्य
सबैलाई एउटै तराजुमा राखी नियाँले  
र सोचेँ,
समयको अगाडि एक भुसुना जो हामी
एक चक्रमा घुमिरहेको
केही गर्ने आशमा, केही हुने आशमा
मनुवाको विवशतामा एक वङ्ग्य हाँसे
सायद समयको माग यही होला
बाहिरको हिउँमा माछपुच्छ्रे देख्नु
र, क्रिसमस क्यारोलमा चण्डी सुन्नु
एक हिसाबले उचितै होला
भन्दै आफूलाई सम्झाएँ
वा, यसपटक पनि आफूलाई
सफलताका साथ झुक्काएँ।

-
शिरिष लामिछाने
सन् २०१३, डिसेम्बर ८
आइतबार 
अपरान्ह, ५:१४ 

Saturday, December 7, 2013

म 
एक प्रेषक
र प्रापक पनि
चिट्ठी लेख्दैछु आफैलाई 
मार्टिन लुथर किंगको स्ट्याम्प
सेतो खाममा टपक्क टाँसेर 
स्वतन्त्रताको आह्वान गर्दै
मभित्रको "म" लाई
लुथरको वक्तव्य सुनाउँदै
"I have a dream"को बिगुल
निरन्तर फुकिरहेछु। 

Saturday, February 23, 2013

~उही अभिव्यक्ति, अनिद्राको~

भेट्न नआएकी निद्रा
र घुर्की लाउँदै गरेको
भोको पेटको सुरमा
म भने,
निस्पट्ट अन्धकार
अनि एक अचम्मको शून्यताबीच
आफ्नो कलम नचाउने
प्रयासमा छु
कलमले नाचेर
कापीको मन भरेझैं
म आफूले भने लेखेर
निद्राको मन जित्ने तरखरमा छु
के ऊ आउली ? कहिले ?
आत्मप्रश्नमाथि आत्मप्रश्न गर्दै
 आँखा चिम्लिनुको साटो
स्वयंलाई Lullaby सुनाउदै छु।


Friday, January 25, 2013

पुनरागमन


धेरै पछि आज
केही लेख्न खोज्दैछु
सुतिरहेको मस्तिष्कलाई
फेरी जगाउन खोज्दैछु

बग्दैछन् मानसिक तरँग
उर्लिएको कर्णालीसरी
उभिएको छु यो भूमीमा
अटल सगरमाथासरी

बस्दैछु, उठ्दैछु, देख्दैछु
जीवनका अनेक रंगहरू
हाँस्दैछु,गाउँदैछु, नाच्दैछु
आफ्नै गीत अनि नाचहरू

भविष्यलाई नियाल्दै छु
तर अतीतलाई बिर्सेको छैन
वर्तमानको माग धेरै छन्
तर स्वयंलाई गुमाएको छैन

लेख्न त फेरी लेखिएला
आजको परिक्षण सफल मानौँ
देखा त फेरि परिएला नै
आशा सदैव जीवितै राखौँ।