Thursday, March 4, 2010

प्रश्नोत्तर


"अमेरिका किन आयौ त राम?"
एक प्रश्नको अनेक उत्तर
राम खोज्दै छ अहिले
कहिले भन्छ,"पढ्न आएँ यार"
त भन्छ कहिले,
"नेपालमै पनि त नपढेको होइन
सायद कमाउनै आएँ होला यार।"

अमेरिका छिरेको ३ वर्षपछि
राम घोरिँदै छ
जवाफका लागि
किन आइएछ त अमेरिका?
बहाना धेरै छन्
तर उत्तर धेरै कम
"कोरोना एक्स्ट्रा" को चुस्की लाउँदै
राम भन्छ,
"साथी, म त यही खान आएँ जस्तो छ
नेपालमा एउटै कार्ल्सबर्ग कति खानु ?"

लोड-शेडिङ देखि
नेपाल बन्दसम्म
साम्प्रदायिक दंगादेखी
दलिय हड्तालसम्म
उ सूची बनाउँदै छ
र,सङसंगै
भर्खर किनेको नयाँ गाडी
र पाएको क्रेडिट कार्डको खुशी
एकसाथ मनाउँदै पनि छ।

"नेपाल कहिले जान्छौ त राम?"
राम रिस पोख्दै भन्छ,
"साथी, अब त किन जाने??
दिन-दहाडै मान्छे मार्छन्
यहीँ टन्न कमाएँ,
अब मोज गर्ने नि यार"
तीनटा कोरोना पछि
रामका,
टलपलाएका आँखा
केही बोल्न खोज्छन्
मैले सोध्न नपाउँदै
राम भक्कानो फुटाउँदै भन्छ,
"साथी,मैले आत्मपहिचान गुमाएँ
कृपया मद्घत गर।
कृपया मद्घत गर।।"


फोटो स्रोत:https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjmXDHEbtKYSptYAUjNgUqpecBJzxPtxru6Zc3JexliugMf7vJ6BkGM1GtmVrnJOUrFhzZ1XP13jxPe0n2RV4BU7biVl8Ck15hVTSTk78R9ETEgkpuuLhVr442DkUS2bvQmRDKSMeSWNY0T/s1600-r/gorealclimatecrisisearth.jpg

Tuesday, December 22, 2009

~नेपाल बन्दमा समर्पित~

सुनियो फेरी नेपाल बन्द भयो रे
रमाइलो नै भयो रे
स्कूलाँ गेट लाग्यो रे,
सडकाँ टायर नी बल्यो रे
जाडोको बेलाँ
राती मसाल जुलुसको आगो
अनी दिउँसो
गोरखकाली टायरको राँको
सबले मनग्ये तापे रे
साँच्चीकै रमाइलो भयो रे
विद्यार्थीलाई छुट्टी
कर्मचारीलाई विश्राम
अनी मासुचिउरा को खाजासंगै
मस्त "Marriage" खेल्ने बाहना
आहा,कति रमाइलो छ
मुठ्ठिभर माथिल्ला वर्गलाई
माकुने लगायत
जापानी गाडी चढ्ने रहिजहरुलाई
नेपाल बन्द भए, घरदरबार
नभए,सिँहदरबार
के गर्नु?
यसो सुन्दिए त हुने
सुन्सान रिङरोडबाट गुन्जिने
नेपालको आर्तनाद
बलेको टायरबाट निस्कने
एक श्रमजिवीको पुकार
यसो देख्दिये त हुने
टियर ग्याँसले निकालेको
अबोध बालकको आँसु
तर खाँचै शिती!
के बालकको आँसुले
माकुनेको छाक अड्क्या छ र?
के भरियाको पुकारले
सुजाताको प्लेन छुट्या छ र?
के देशको भविश्यको बिगुलले
हाम्रो वर्तमान रोकिया छ र?

Friday, October 9, 2009

~नोबेल प्राइज् एन्ड माकुने~


ओबामाले नोबेल पुरस्कार पाएको सुन्दा
रिस पो उठेर आयो
चाउरे, लिखुरे,लम्बुलाई छान्ने को?
मन भित्रैदेखि कुँडिएर आयो
के हाम्रा माकुने कम थिए र?
उनलाई वास्तै गर्न नहुने?
दुई ठाउँबाट हारेको भन्दै मा
एक वचन सोध्नै नहुने?
कसैले हेर्या छ
हाम्रो प्रमको मुस्कान?
आहा!
देख्दै विश्वले चीर शान्ति पाउला जस्तो
कसैले सुन्या छ
उनले देको भाषण?
सुन्दै लादेन भैयाले सन्यास लेलान् जस्तो
छ ओबामाको आँट
Geri Halliwell सँग खुलेआम म्वाइँ खाने?
छ ओबामासँग कला?
अँगालो हाल्दै शान्ति बाँढ्ने?
ओबामा जत्तिकै अग्लो नभएर के भो?
खाइलाग्दो जुङा लामो छँदै छ
फोटू त जस्तो नि निकाल्न सकिन्छ!
फोटोशप जान्ने कार्यकर्ता छँदै छ
कति दुखेसो गर्नु अब
अन्याय भो, अत्याचार भो
लौ अब जे सुकै होस्
माननीय प्रम माकुनेले
पुरस्कार नपाएकै निउँमा
भोली "नेपाल बन्द" घोषणा भो!!

Monday, August 17, 2009

कुशे औँशीको लागि



मस्त निद्रामा सुतिरहेको
अबोध बालक थिएँ म
अँध्यारोमा नै रमाउने
बाहिरको उज्यालोबाट बन्चित
एक निरक्षर थिएँ म
तर तिमी त्यहाँ थियौ
मेरो लागि सधैं
टाढाको क्षितिज हेर्दै
प्रकाश देखाउदै अझै
भन्थ्यौ,"आँखा खोल् छोरा
चीर निन्द्रामा सुत्लास् कुनै दिन
अहिले उठ्नु छ, धेरै काम गर्नु छ।"

झ्यालबाट छिरेको
घामको रापसँगै
म उठ्ने गर्थेँ
र तिम्रो धापसँगै
लक्ष्य प्राप्र्तिको निम्ती
अगाडि बढ्ने गर्थेँ
मेरो किन्चित खुशीमा
तिम्रो मुहारको चमक
अझै सम्झिन्छु म
मेरो रुवाइमा
तिम्रो बात्सल्यको स्पर्श
अझै महसुस गर्छु म
मेरो कमजोरीमा,लाचारीपनमा
नैराश्यमा,अनि हारमा
तिम्रै रक्तसन्चारक प्रवचन
अझै प्रष्ट सुन्छु म।

लेखुँ भने कती लेखुँ
शब्द सकिएलान्, शब्दकोशका
दिन सक्दिन अरु केही
कुशे औँशीको यो दिनमा
बाबा,
बन्द आँखा गरी तिमीलाई
हेर्दै छु, मन-मस्तिष्कमा।
हेर्दै छु, मन-मस्तिष्कमा।।